News राजनीति

एमसीसी अध्ययन कार्यदल बैठक: ४ बिषयमा छलफल गर्ने निर्णय

एमसीसी अध्ययन कार्यदल बैठक: ४ बिषयमा छलफल गर्ने निर्णय

काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ । नेकपाले आइतबार गठन गरेको कार्यदलले सोमबारै बैठक बसेर काम सुरु गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयलाई केन्द्रमा राखेको कार्यदलका एक सदस्यले बताए । ‘हामीले छलफल सुरु गरेका छौं,’ उनले भने, ‘एमसीसीका विषयमा शंका–उपशंका उत्पन्न भइरहेको विषयलाई समाधान खोज्ने पहल गरिएको छ ।’

कार्यदलले आफूले पाएको समयावधिमै प्रतिवेदन बुझाउने गरी काम सुरु गरेको हो । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको सर्वसम्मतबाट चार विषयमा अध्ययन गर्ने टुंगो लागेको स्रोतले जनायो ।

कार्यदलले एमसीसी के हो ? एमसीसीले नेपालमा गर्न खोजेको के हो ? एमसीसी सम्झौता हो कि सन्धि ? र, यो राष्ट्रिय हितअनुकूल छ कि छैन ? यस्ता विषयमा छलफल गर्ने भएको छ । कार्यदलले आवश्यकताअनुसार कार्यदलमा विज्ञहरूलाई सहभागी गराई चार विषयमा अध्ययन गर्ने सहमति गरेको कार्यदलका एक नेताले बताए । यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले लेखेका छन।  

एमसीसी अध्ययन

विशेष