News

'नारायणहिटीमा कुनै होटल बन्दैन'

'नारायणहिटीमा कुनै होटल बन्दैन'

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले संग्राहलयको मापदण्डमा नारायणहिटी रहने उल्लेख गर्दै भने, ‘नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन यो संग्रहालयकै रुपमा रहनेछ । संग्रहालयको मापदण्डभित्र रहनेछ ।

होटल बनाउने योजना पनि छैन । बन्दा पनि बन्दैन । बरु कफी सपसम्म बन्न सक्छ । अरु कुनै व्यापारिक प्रयोजनका लागि संरचना बन्दैन ।’

उनले कारोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य वैकल्पिक बजारको खोजी भइरहेको बताए ।

चीनबाट यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र निजी क्षेत्रहरूसँग छलफल गरी वैकल्पिक बजार खोज्न योजना बनिरहेको बताए । 

बैठकमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले भन्दा धेरै सुधार आएको बताउँदै राजविराज विमानस्थलबाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्य प्रगति राम्रो रहेको बताए । 

विशेष