News

प्रधानमन्त्रीको फेरिएको अवतार

प्रधानमन्त्रीको फेरिएको अवतार

काठमाडौँ। दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ– उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा–लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन् । मंगलबार अपराह्न बालुवाटार निवासमा दुई दर्जन सम्पादक–पत्रकारसँग भने उनी फरक शैलीमा प्रस्तुत भए । पहिले दुई घण्टा हाम्रा प्रश्न र धारणा सुन्न चाहे, त्यसपछि एक घण्टा आफ्ना कुरा राखे । 

सरकारका सकारात्मक पक्षबारे नलेखेको आरोप लगाउँदै नेपाली सम्पादकहरूको मन र मुटु छैन भन्दै यसअघि गुनासो गरेका प्रधानमन्त्री ओलीले लामो अन्तरालमा प्रेससँग प्रत्यक्ष अन्तर्क्रिया गरेका हुन् । यस क्रममा उनले सरकारको कार्यशैलीदेखि एमसीसी, केन्द्रीय समिति बैठक, मिर्गौला प्रत्यारोपण, यति प्रकरण, ललिता निवासदेखि पुष्पकमल दाहालसम्म अनेक प्रसंगबारे बोले, तर निकै नरम शैलीमा । विगतमा जस्तो कटाक्ष भरिएका आक्रामक शब्दावली सायद सोचेरै प्रयोग गरिएन । प्रधानमन्त्री ओलीको यस्तो रक्षात्मक अवतार विरलै देखिने गर्छ ।

सरकारले विभिन्न नियम–कानुन ल्याएर आमसञ्चार, सामाजिक सञ्जाल र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयत्न किन गरेको भन्ने धेरैजनाको प्रश्नमा प्रधानमन्त्रीको प्रस्टीकरण थियो, ‘प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा आम स्वतन्त्रताको हक कुण्ठित गर्ने काम कुनै हालतमा हुँदैन । कहींकतै गल्ती वा त्रुटि भएको छ भने त्यसलाई सच्याइनेछ ।’

प्रधानमन्त्री ओलीले स्वतन्त्रताका लागि आफैं ५५ वर्ष लडेको दृष्टान्त प्रस्तुत गर्दै सरकारले प्रेस स्वतन्त्रताको हक संकुचित नपार्ने बताए । ‘मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ साथीहरूले अलि बढी देख्नुभएको छ, थोरै भोग्नुभएको छ तर मैले धेरै भोगेको छु,’ उनले भने ।

यद्यपि प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको एउटा सीमा तोकिनुपर्ने र आफूले बनाउन चाहेको ‘शालीन र सभ्य समाज’का लागि त्यो अपरिहार्य रहेको तर्क भने गरिरहे । ‘मैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन हुनुभएन, त्यसमा हाम्रो सजगता आवश्यक छ,’ उनले थपे ।

‘अरूलाई चाहिँ सुन्नुपर्छ, सुन्न सक्नुपर्छ भन्ने, मैलेचाहिँ तपाईंहरूको राम्रो कुराको प्रशंसा गर्ने मुटु छैन भन्दा उत्पात मच्चाउने ? किन त्यस्तो असहिष्णुता ?’ उनले हस्यौली पारामा सोधे । सञ्चारमाध्यमले लेख्दा, छाप्दा र कार्टुन बनाइरहँदा ‘यो त अति नै भयो’ भनेर आफूले प्रतिक्रिया मात्रै दिएको ओलीको प्रस्टीकरण थियो । ‘तपाईंहरूले बलिङ गरेको गर्‍यै गरेपछि हामीले कहिलेकाहीं ब्याटिङ त गर्नैपर्‍यो,’ ओलीको गुनासो थियो, ‘यसो हामी पनि ब्याटिङ गरौं न त भन्यो सरकार प्रेसको शत्रु भयो भन्नुहुन्छ ।’यो समाचार आजको कान्तिपुर दैनिकमा सुधिर शर्माले लेखेका छन।  

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष