राष्ट्रियसभामा बैठकमा सांसदको कविता मार्फत ओली सरकारविरुद्ध ब्यंग्य
काठमाडाैँ – समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले राष्ट्रियसभामा बैठकमै कविता मार्फत केपी ओली सरकारविरुद्ध ब्यंग्य गरेका छन्।
उनले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिएको टिप्पणी गरे।
बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए ।
उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै बैठकमै कविता वाचन गरे ।
यस्तो छ उनको कविता
‘नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहीनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजारदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगिसक्यो,
सैशवकालमै समृद्धिलाई कोरोना भाइरसले खाइसक्यो ।
समानता स्वतन्त्र सिकिस्त छन् , लोकतन्त्र पनि थला परिसक्यो
संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास, बास,कपास माग्दा कुरा मात्रै चिल्ला
जनता आवास, भूमि ऐन पनि कहाँ छ र गतिला ?
हिँड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन, विदेशी डलर पाउन आफैं किन बिक्छौ ?
यहाँसम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठीक छौं ?
सरकार,
न्याय र समानताको नारा लगाउछौ बेस्सरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ, गर्यौ कहिल्यै खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले शिवाय तिरस्कार र अपमान
तिमीलाई छुट कसरी ? गर्न वाइड वडी र एनसेल काण्ड
पुर्खाको पौरख गुमाउँदै हसाई पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिइसक्यो
के गर्यौ सरकार, कुखुराको मूल्यले होलीको मुखैमा पिरोलिसक्यो ।”