प्रधानमन्त्रीको निर्देशन: चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउ
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन निर्देशन दिएका छन्। नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन पनि प्रधानमन्त्री ओलीले दिए।
बिहीबार बिहान उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बालुवाटार बोलाएर विशेष बैठक राख्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
‘शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्नु र नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन ढिला नगर्नु’, प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन छ ।
सरकारले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि यहाँ राख्ने स्थानको पहिचानमा भएको ढिलाइले उनीहरुलाई ल्याउन सकेको छैन ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले क्वारेन्टाइनका लागि खोजिएका स्थान र अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।