News

'कारवाही नगरे खै कारवाही भन्छन्, कारवाही गर्‍यो किन गरेको भन्छन्'

'कारवाही नगरे खै कारवाही भन्छन्, कारवाही गर्‍यो किन गरेको भन्छन्'

काठमाडाैं - राष्ट्रिय सभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक संकेत भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए ।

‘भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ,’ उनले भने ।

उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरूलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गरे ।

‘कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही गर्‍यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्त्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुपर्‍यो नि ! २–३ तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन,’ उनले भने ।

सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताए । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उनको भनाइ थियो ।

सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिप्पर आतंक बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महंगीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

विशेष