ललिता निवास प्रकरण: प्रधानमन्त्री सदाचारी, मन्त्री भ्रष्टाचारी कसरी?
काठमाडाैँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विभेद भएकाेप्रति आपत्ति जनाएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा कांग्रेस नेता बद्री पाण्डेले कम्युनिस्ट पार्टी (नेकपा)का नेता जोगाएर कांग्रेस नेतालाई भ्रष्टाचार मुद्दा लगाउनु विभेद पूर्ण भएकाे बताए।
ललिता निवासको जग्गा व्यक्तिको नाममा जाने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा किन्न नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाउनु र कांग्रेस नेता विजय गच्छदारमाथि मुद्दा चल्नु प्रतिशोधपूर्ण भएको उसले बताएको छ ।
नेता पाण्डेले प्रधानमन्त्री प्रधान हुने शासकीय शैलीमा प्रधानमन्त्री सदाचारी र मन्त्री भ्रष्टाचारी कसरी हुन सक्छ भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्छ, उहाँकै नेतृत्वमा निर्णय हुन्छ । यसरी भएको निर्णयमा प्रधानमन्त्री निर्दोष, मन्त्री दोषी हने, प्रधानमन्त्री सदाचारी र मन्त्री भ्रष्टाचारी हुने यो कस्तो खालको न्याय प्रारम्भ हुन खोजेको हो ?’ उनले प्रश्न गरे ।
उनले अघि भने ‘उन्मुक्ति पाउने पूर्वप्रधानमन्त्री र नेताहरुको सूची हेर्दा निर्णय नेकपा र यसका नेतालाई जोगाउने र विपक्षी पार्टीलाई फसाउने जस्तो देखिन्छ ।’
नेता पाण्डेले ललिता निवासको जग्गा व्यक्तिको बनाउन शक्तिको दुरुपयोग गर्ने र शक्ति दुरुपयोग गरेवापत जग्गा नजराना पाउने नेताले नजराना फिर्ता गरिदिन्छु भनेको आधारमा उन्मुक्ति पाउनु कस्तो निसाफ हो भनी प्रश्न गरे ।