News

अब घरमै बसीबसी राहदानी लिन सकिने

अब घरमै बसीबसी राहदानी लिन सकिने

काठमाडौंः सेवाग्राहीले अब घरमै बसी बसी राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । राहदानी विभागले लाग्ने शुल्क अनलाइनबाटै तिर्न पाउने सेवा सुरु गरेपछि सर्वसाधारणले घरमै बसेर राहदानी पाउने भएका हुन् । 

यसअघि बैङ्कमा लाइन बसेर राहदानीबापतको शुल्क तिर्नुपर्ने प्रावधान थियो । राहदानी फाराम भने अनलाइनमै भर्ने सुविधा रहे पनि लाग्ने शुल्क तिर्न भने बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो  । शुल्क तिरेको बैङ्क भौचरसहित फाराम भरेपछि मात्र राहदानी बन्थ्यो । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘अब पैसा तिर्न पनि लाइन बस्न नपर्ने भएको छ । घरमै बसी बसी राहदानीका लागि आवेदन दिन र शुल्क तिर्न पाइन्छ ।’

राहदानी विभागको वेबसाइट नेपाल पासपोर्ट डट जीओभी डट एनपी खोल्नासाथै दायाँपट्टि हरियो रङमा अनलाइन पेमेन्ट लेखिएको छ । त्यहाँ अनलाइनबाटै कसरी शुल्क तिर्ने भन्ने जानकारीसहितको विकल्प दिइएको छ । विभागले राजस्व व्यवस्थापन सूचना प्रणालीको अनलाइन सफ्टवेयरको सञ्जाल प्रयोग गरी विभागले अनलाइन पेमेन्ट सेवा सुरु गरेको हो । देशभरका राजस्व सङ्कलनका लागि प्रयोग हुँदै आएको यो सफ्टवेयर विभागको अनलाइन आवेदन सेवासँग जोडेर एकीकृत सेवा सुरु गरिएको खड्काले बताए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

राहदानी विभाग राहदानी

विशेष