जंगली बँदेल मार्न किसानले पाए अनुमति!
काठमाडौंः कृषकले अब निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्ने अनुमति पाउने भएका छन् । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६–७७ भर कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनालीमा नोक्सान पुर्याएमा वा धनजनको हानी नोक्सानी गरेमा किसानले एक्लै वा सामूहिक रुपमा बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने छन् । पक्राउ गरेको बँदेलबारे जानकारी भने सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालयमा गराउनु पर्नेछ ।
यदि बँदेललाई धपाउने वा पक्रने क्रममा बँदेल मर्यो भने सम्बन्धित वडाका प्रतिनिधिसहित कम्तिमा ५ जनाको रोहबरमा मुचुल्का उठाएर गाड्न सकिने छ । स्थानीय तहको राजस्व खातामा रकम जाने गरी बँदेललाई उपयोग गर्न सकिने र त्यसको जानकारीसमेत निकुञ्जलाई गराउन सकिने प्रावधान ल्याइएको छ । बँदेल मारिएमा त्यसको विवरण हरेक महिना वन तथा वातावरण मन्त्रालयमा समेत पठाउनु पर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा वन क्षेत्रमा भने जंगली बँदेललाई पक्रन, लखेट्न र मार्न नपाइने वन मन्त्रालयले उल्लेख गरेको छ । यदि नरभक्षी हो भने चितुवा, बाघ, भालु आदिलाई मार्न सक्ने अधिकार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ को उपदफा ४ ले दिएको छ ।