News

ललिता निवास जग्गा प्रकरण: गच्छदारको बचाउमा कांग्रेसले गर्‍यो संसद्‍ अवरुद्ध

ललिता निवास जग्गा प्रकरण: गच्छदारको बचाउमा कांग्रेसले गर्‍यो संसद्‍ अवरुद्ध

काठमाडाैँ – बालुवाटारकाे ललिता निवास जग्गा हिनामिना गरी भ्रष्टाचार गरिएकाे प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि त्यसको विरोधस्वरूप कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले गच्छदारमाथि प्रतिशोध साँधिएको आरोप लगाइन् । संवैधानिक अंग सरकारको लाचार छाँया बनेको उनको आरोप थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो यात्रा गरेका र जनताले पटक–पटक अभिमत दिएका गच्छदारप्रति हदैसम्मको प्रतिशोध साँधिएको जिकिर उनले गरिन् ।

राजनीतिक पूर्वाग्रहको आधारमा बदनियतपूर्ण ढंगले गरिएको मुद्दा स्वीकार नगर्ने चेतावनी समेत उनले दिइन् ।कांग्रेसको अवरोधका कारण संसद् बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

उक्त ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उप-प्रधानमन्त्रीसहित ३ पूर्व मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । बुधबार विशेष अदालतमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो 

विशेष