मनाङेले झापड हानेका एन्फा अध्यक्ष गुरुङ २ लाख धरौटीमा छुटे
पोखरा – प्रदेश सांसद दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ धरौटीमा छुटेका छन्।
उच्च अदालत पोखराको आदेशमा उनलाई २ लाख धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।
मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडिएको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए । प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।