बालुवाटार जग्गा प्रकरणबारे गच्छदारले खाेले यस्ताे मुख
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् । विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रतिक्रिया दिँदै उनले आफू निर्दोष रहेको दावी गरे ।
शुक्रबार बिहान १० बजे सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि उनले भने, ‘मैले कुनै कानुन बदलेर निर्णय गरेको होइन । मन्त्रिपरिषद् बैठकबाट त्यो बेला निर्णय भएको हो । जुन निर्णय संविधान र कानुन सम्मत भएको थियो । यसमा म दोषी हुनुपर्ने कारण छैन ।’
काँग्रेस संसदीय दलको उपनेता समेत रहका गच्छदारले पार्टीले आफ्नो पक्षमा लिएको अडान नै आफ्नो अडान रहेको बताए । उनले भने, ‘तपाईँले देखिराख्नु भएको छ । पार्टीले राजनीतिक रुपमा एकखालको अडान लिएको छ । कानुनी प्रक्रियाबारे पनि कानुन विज्ञसँगै पार्टीले सुझाव लिइरहेको छ । पार्टीको नीति अनुसार म अघि बढिरहेको छु।’
उनी यस विषयमा थप बोल्न चाहेनन् । उनले भने, ‘म यसबारेमा अहिले बोल्ने पक्षमा छैन । २७ गतेपछि थप के बोल्नुपरेमा बोलाँैला ।’ माघ २७ गते काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि काँग्रेस सामाजिक सञ्जाल, सदन र सडकमा उत्रिएको छ ।
अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको केही घण्टामै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासम्मले सामाजिक सञ्जालका आक्रोश पोखेका थिए ।