News

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौंः नेपालमा फेरि शुक्रबार वर्षा र हिमपात गराउने प्रणाली प्रवेश गर्न लागेको मौसमविदले बताएका छन् । आज दिउँसो देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । 

उनका अनुसार पश्चिमी वायुबाट विकसित यो प्रणालीको प्रभावले अब तीन दिन देशभर मौसम बदली तथा पहाडी भेगमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात गराउने सम्भावना रहेको छ । 

यो खासै शक्तिशाली प्रणाली नभएकाले देशको पहाडी भेगमा मात्रै यसको खास प्रभाव पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर यो तीन दिन घाम भने देशभर राम्रोसँग नलाग्ने मौसमविद् कँडेलले जानइकारी दिइन् ।  

उनले भनिन्, ‘यो त्यस्तो सशक्त खालको प्रणाली होइन, यसले खासगरी पश्चिम र पूर्वका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा गराउने देखिन्छ भने मध्य पहाडका पनि एक–दुई स्थानमा फाट्टफुट्ट पानी पर्न सक्छ ।’   
 
कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?    

माघ २४ गते (शुक्रबार) 

दिउँसोः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहनेछ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भू–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भू–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहनेछ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

माघ २५ गते (शनिबार) 

दिउँसोः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

 रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनाका साथै  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २६ गते (आइतबार)

दिउँसोः देशका पूर्वी भू–भाग र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। 

रातिः देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

हिमपात वर्षा मौसम पूर्वानुमान

विशेष