News

कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च, अझै वृद्धि हुनसक्ने

कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च, अझै वृद्धि हुनसक्ने

बागलुङः बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । 

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक  मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४००  प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ । 

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । ‘कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ’ उनले भने, ‘कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।’ अहिलेसम्म ४०० नाघ्न सकेको थिएन । 

कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो । कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । 

जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उहाँले जानकारी दिए । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी÷बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ । 

बागलुङ कुखुरा मासु

विशेष