मुस्ताङमा पुन: हिमपात, चिसोले जनजीवन प्रभावित
मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए ।
जोमसोममा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिए ।
बिहीबार रातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छाडिने उनले जानकारी दिए ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए ।
मुस्ताङ हिमपात