News

कुटपिट र यातना भएपछि बालगृहबाट भागेका बालबालिकाको उद्धार

कुटपिट र यातना भएपछि बालगृहबाट भागेका बालबालिकाको उद्धार

 काठमाडौंः प्रहरीले बालगृहमा कुटपिट र यातना भएपछि भागेका बालबालिकालाई उद्धार गरेको छ । ललितपुरको भैँसेपाटीस्थित श्री पुनःस्थापना पवित्र चिल्ड्रेन होम नामक बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले उद्धार गरेको हो  । उद्धार गरेका बालबालिका खोजतलास समन्यव केन्द्र (१०४) मा ल्याइएको छ ।

उद्धार गरिएकामा सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटा रहेका छन् ।  

आकाश खाती र कमला खातीले सञ्चालन गरेको बालगृहमा संरक्षणको नाममा खान लाउन नदिई काममा लगाउने र यातना दिने गरेकाले बालगृहबाट भागेको उद्धार गरिएका बालबालिकाले गुनासो गरेका छन् । सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौं पठाएको बताए । आशाका अनुसार पढाइदिने र टेबलमा बसेर खान दिइने भनी बालगृहमा ल्याइएको थियो ।

बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् । दुई वर्षदेखि त्यस बालगृहमा बस्दै आएकी ९ वर्षीया योना विकका अनुसार बालगृह सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेका थिए । भागेका बालबालिकालाई भैँसेपाटीका एक स्थानीयले भेटी प्रहरीलाई बुझाएको थियो ।  

बालबालिका कुटपिट यातना बालगृह

विशेष