भाइरल ज्वरोको कारण बाजुरामा २ को मृत्यु
बाजुरा। स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले २ जनाको मृत्यु भएको छ। भाइरल ज्वरोको कारण सोही गाउँपालिका-१ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडाराको मंगलबार र ७० वर्षीय दलबहादुर रावलको बुधबार मृत्यु भएको साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज वृज विकले जानकारी दिए।
उनले भाइरल ज्वरो प्रभावित क्षेत्रका लागि साप्पाटा स्वास्थ्य चौकीबाट जोरुमा औषधिसहित स्वास्थ्य चौकीको टोली गएको बताए। स्वामीकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले शाखामा भएको औषधि लगेर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए। गाउँमा चिसोका कारण रुघाखोकी ज्वरोलगायतका बिरामी बढेका छन्।
केहि साता अघि हिमाली गाउँपालिका-६ धुलाचौरमा बोर्डिङमा तीन जना विद्यार्थीबाट सुरु भएको भाइरल ज्वरोले सो क्षेत्र पूरै प्रभावित बनेको छ।