News

अछामको मियाँपुरमा छैन छाउगोठ

अछामको मियाँपुरमा छैन छाउगोठ

अछामः सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन ।

इस्लाम धर्मावलम्बीको बाहुल्य रहेको मियाँपुरमा विगतदेखि नै छाउगोठको अस्तित्व नरहेको मदरसा दारुल कुरआन प्राथमिक विद्यालयका शिक्षक शम्भु मियाँले जानकारी दिए । लामो समय हिन्दूका बीचमा बसेको हुनाले मियाँपुरका मुस्लिमको रहनसहन वरिपरिका हिन्दूका जस्तै देखिन्छन् । अछाममा व्याप्त छाउगोठ प्रथामा भने उनीहरू पूरै फरक छन् ।

महिनावारीका बेला गाउँका हिन्दू महिला छाउगोठमा बसेको देख्दै आएकी हुन् २२ वर्षकी यशोदा मियाँले । उनले आफूले कहिल्यै छाउगोठ बस्नु नपरेको सुनाइन् । 

उनले भनिन्, ‘‘कुनै पनि मियाँको घरमा छाउगोठ छैन । हामी महिनावारी हुँदा घरमै बस्छौँ र सबै खानेकुरा खान्छौँ ।’ छाउगोठ प्रचलन नभए पनि महिनावारी भएको बेला भान्छामा जान भने हिच्किचाहट महसुस हुने यशोदाले सुनाइन् । 
 
तराईका मुस्लिमझैँ यहाँका मुस्लिम महिला बुर्का पनि लगाउँदैनन् । झट्ट हेर्दा बोल्दा मुस्लिम हुन् झैँ लाग्दैनन् । लामो समय बहुसङ्ख्यक हिन्दूको नजिक बसेकाले रहनसहनमा हिन्दू प्रभाव छ । लवाइखवाइ उस्तै देखिए पनि धर्म संस्कारमा मुस्लिमहरू फरक रहेको मियाँपुरका अगुवा तथा मुस्लिम राजनीतिज्ञ केशर मियाँले बताए ।

पछिल्लो तीन दशकमा मुस्लिमले आफ्नो धर्म संस्कृतिको खोजी र संवद्र्धन गर्न थालेका छन् । गाउँमै मस्जिद र मदरसा स्थापना गरी इस्लाम धर्म र संस्कार सन्तानलाई पनि सिकाउन थालेका छन् । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले झण्डै २५–३० घर जति मुस्लिम धर्मावलम्बीको बसोवास रहेको मियाँपुरमा छाउगोठको परम्परा नरहेको बताए । 

प्रमुख कुँवरले भने, ‘आठ सय वर्षदेखि उहाँहरू यहाँ बस्दै आएको भन्ने भनाइ छ । यहाँको मुस्लिममा छाउगोठ नमान्ने राम्रो परम्परा छ, धेरै रहनसहनमा हिन्दूको प्रभाव रहेपछि छाउगोठले पनि यो समुदायले छोएको रहेनछ । ’ 

अगुवा केशर मियाँ यहाँ इस्लाम धर्मावलम्बी अल्पसङ्ख्यक समुदायका रूपमा रहेका हुनाले महिलालाई छाउगोठमा नराख्ने जस्ता राम्रा संस्कार अरूले सिक्न नसकेको विश्लेषण गर्छन् । गोरखापत्र दैनिकबाट 

छाउगोठ अछाम मियाँपुर

विशेष