News

पशुपतिमा एक अर्बको १४१ किलो सुनकाे जलहरी राखिने!

पशुपतिमा एक अर्बको १४१ किलो सुनकाे जलहरी राखिने!

काठमाडौंः पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको जलहरी राखिने भएको छ । गर्भगृहमा पुजिने शिवलिंग राखिने जलहरी सुनको बनाइने भएको हो । पशुपति क्षेत्र विकास कोषले १ सय ४१ किलो सुनको भव्य जलहरी बनाउने भएको हो । सुनको आजको दरभाउअनुसार ९१ करोड ८७ लाख २४ हजार दुई सय ७५ रुपैयाँ लगानी गरेर जलहरी बनाउने भएको छ । यसअघि यो जलहरी चाँदीको छ।

हाल सञ्चालनमा रहेको चाँदीको जलहरी जीर्ण भएर चारैतिरबाट चुहिने भएपछि नयाँ बनाउने क्रममा कोषले सुनको बनाउन लागेको हो । यसका लागि कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा १० सदस्यीय श्रीको जलहरी निर्माण व्यवस्था समिति गठन गरिएको छ । यसमा मूलभट्टसहित चार भट्टलाई सल्लाहकार राखिएको छ । डा. थापाले परिषद्को बैठकले १ सय ४१ किलोको सुनको जलहरी राख्ने निर्णय गरेर काम अगाडि बढाउने विषय पारित गरेको जानकारी दिए । उनले भने, ‘जलहरी निर्माणका लागि भक्तजन र दातालाई सार्वजनिक सूचनामार्फत आह्वान गर्दै छौं । उनीहरूले आफूले सुन खरिद गर्न चाहेको रकम बैंकमा जम्मा गर्न सक्नेछन् ।’

दाताले एक तोला सुन बराबरको रकम वा सोभन्दा कम रकम सोही दिन चलेको सुनको मूल्यांकन दररेटअनुसारको रकम कोषले तोकेको बैंकमा जम्मा गर्न सक्ने छन् । कोषले यसका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबीआई बैंकमा खाताको व्यवस्था गर्दैछ । भक्तजन÷दाताले एक तोलाभन्दा माथि जति तोलासम्म पनि अर्पण गर्न सक्ने प्रावधान राखिएको छ ।

एक तोला सुनबराबरको रकम जम्मा गर्ने दाताको नाउँ अभिलेख पुस्तिकामा समावेश गरिनेछ भने नाम गोप्य राख्नेको नाम स्मारिकामा उल्लेख गरिने छैन । दाताले सुन खरिदका लागि बैंकमा जम्मा गरेको भौचर कोषलाई उपलब्ध गराए कोषको आधिकारिक वेबसाइटमा राखिने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

पशुपतिनाथ मन्दिर जलहरी

विशेष