आज पनि १३ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि विभिन्न १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदैछ । मन्त्रालयका अनुसार शनिबार औषधि खान छुटेकाहरुलाई आज समेट्न लागिएको हो । यस बर्ष विभिन्न १३ वटा जिल्लाका ७४ लाख ६१ हजार मानिसलाई औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ ।
मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ ,बाँके , बर्दिया , कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदैछ । चिकित्सकहरुले खाली पेटमा औषधि नखान सुझाएका छन् । साथै दुई वर्षमुनिका बालबालिका, कडा रोग लागेका बिरामी, सुत्केरी र गर्भवती महिलालाई पनि हात्तीपाइलेको औषधि खुवाउन नहुने चिकित्सकहरुले जानकारी दिएका छन् ।
शरीरमा हात्ती पाइले रोगको परजीवि भएका ब्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाक लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्न सक्छन् । यस्तो लक्षण देखिएमा औषधिले प्रभावकारी रुपमा काम गरेको भनेर बुझ्न महाशाखाले जनाएको छ । हात्तीपाइले रोग मानिसलाई अशक्त,असमर्थ तथा अपाङग बनाउने एक सरुवा रोग हो । यो एक प्रकारको मसिनो जुकाजस्तै परजिवीको संक्रमणका कारण लाग्ने चिकित्सकले जनाएका छन् ।
यो संक्रमित लामखुट्टेको टोकाइबाट पनि सर्छ । मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केहि बर्षपछि मात्रै लक्षणहरु देखिन सुरु गर्छन् । नेपालमा सन् २००३ देखि आम औषधि सेवन कार्यक्रम सुरु गरिएको हो । नेपालमा सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिए लक्ष्य अनुसार काम हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हात्तीपाइले रोग औषधि