News

३३ रुपैयाँमा ग्यास सिलिन्डर, दुई सयमा ल्यापटप!

३३ रुपैयाँमा ग्यास सिलिन्डर, दुई सयमा ल्यापटप!

काठमाडाैँ – जिल्ला समन्वय समिति ओखलढुंगाले नियम विपरीत पूराना सामान लिलाम गरेकाे छ। जसले राज्यलाइ लाखाैँकाे नाेक्सानी भएकाे छ। समितिले लाखौं मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य सतहमा भएपछि कर्मचारीहरूमाथि अनियमितता गरेकाे स्थानीयहरूले अाराेप लगाएका छन् । समितिले कार्यालयमा रहेका विभिन्न सामग्री अस्वाभाविक मूल्यमा लिलाम बिक्री गरेकाे तथ्य महालेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७६ ले देखाएकाे छ।

उक्त प्रतिवेदनले जसमध्ये दुई सय रुपैयाँमा ल्यापटप कम्प्युटर र ३३ रुपैयाँमा ग्यास सिलिन्डर बिक्री गरेको खुलेको छ । एउटा ल्यापटपको दुई सय रुपैयाँका दरले २२ थान ल्यापटप कम्प्युटर मात्र चार हजार चार सय रुपैयाँमा समितिले बिक्री गरेको छ । 

त्यस्तै एउटा ग्यास सिलिन्डरको ३३ रुपैयाँ ३३ पैसाका दरले तीन थान ग्यास सिलिन्डर जम्मा एक सय रुपैयाँमा बिक्री गरेको प्रमाण फेला परेको छ । जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिले पारित गरेको ७४ प्रकारको जिन्सी मालसामानको दररेटअनुसार दुई थान जेनेरेटरको एक हजार पाँच सय, चार थान टिभीको चार हजार, पाँच थान डेक्सटप कम्प्युटरको दुई हजार दुई सय, तीन थान कम्प्युटर टेबलको दुई सय रुपैयाँ, दुई थान फोटोकपी मेसिनको एक हजार, एक थान फ्रिजलाई ५० रुपैयाँमा लिलाम बिक्री गरेको हो । 

त्यस्तै चार थान रिभल्बिङ कुर्सीको एक सयका दरले ७४ प्रकारका सामान जम्मा ७७ हजार ५ सय ८० रुपैयाँ १५ पैसा मूल्यांकन गरी रकम स्वीकृत गरेर सामान लिलामी गरिएको छ ।

कार्यालयले तीन वटा डाक कबोल गरेको र सबैभन्दा बढी डाक कबोल गर्ने भरत तामाङको ८२ हजार ५ सय ८० मा लिलामी सकारेको देखिन्छ । महालेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७६ अनुसार समितिले लिलाम बिक्री गरेको सामानहरूको मूल्यमा विश्वस्त हुने आधार छैन । कार्यालयले नियममा भएको व्यवस्थाको पालना नगरी लिलाम समिति गठन गरेर सामान बिक्री गरेको मलेपले जनाएको छ ।

विशेष