ओलीको अडान ५ दिन पनि टिकेन...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकाे अडान ५ दिन पनि टिक्न सकेन। उनी अाफ्नाे अडानबाट पछि हट्दै राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सहमत भएका छन् । गत बुधबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम नै प्रधानमन्त्री ओली फागुन २० पछि रिक्त हुने एक राष्ट्रिय सभा सदस्यमा गौतमलाई सरकारका तर्फबाट सिफारिस गर्न तयार भएका हुन् ।
आइतबार बस्नै मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्ने वालुवाटार स्रोतले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सो पदमा हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा छन् । खतिवडाको २ बर्षे कार्यकाल फागुन २० गते सकिँदैछ ।
यसअघि ओली गौतमलाई खतिवडाको स्थानमा राष्ट्रिय सभामा पठाउने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्ट रहँदै आएका थिए । तर, आइतबारको सचिवालय बैठकमा भने ओली गौतमप्रति नरम भएका हुन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आइतबारको सचिवालय बैठकमा गौतमको नाममा कुनै असहमति नजनाएको स्थायी समिति सदस्य तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
‘आइतबारको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल नै भएन । किनभने यसअघि नै निर्णय भैसकेको थियो । त्यो निर्णयबाट कोही पनि यताउता गर्ने अवस्था नै छैन’, खनालले, ‘सर्वसम्मत निर्णय भएको विषयमा छलफल गर्न जरुरी नै थिएन ।’
ओलीको अडानले नेकपामा पक्ष र विपक्षमा विभिन्न आरोप प्रत्यारोप नै चल्न सुरु भएको थियो । त्यसक्रममा गौतमको पक्षमा सचिवालयका ७ सदस्य एकातिर र ओलीसहित ईश्वर पोखरेल अर्कातिर अर्थात युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्नेमा विभाजित बनेका थिए । तर सचिवालयको सर्वसम्मत निर्णय नमाने ओलीविरुद्ध पार्टीले कडा कदमसमेत चाल्न सक्ने निष्कर्षमा ओलीइतरका नेताहरु पुगेपछि ओली अन्ततः गौतमलाई स्विकार्ने पक्षमा पुगेका हुन् ।