News विदेश

इस्लामावाद पार्क नजिकै लडाकू विमान दुर्घटनाग्रस्त

इस्लामावाद पार्क नजिकै लडाकू विमान दुर्घटनाग्रस्त

पाकिस्तानको हवाई फौज (पिएएफ)को लडाकू विमान एफ-१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ।

पिएएफले विज्ञप्ति जारी गर्दै उक्त विमानले आउँदो मार्च २३ तारिखका दिन हुन लागेको राष्ट्रिय दिवसका लागि पूर्वाभ्यास गर्दै गरेको जनाएको छ।

सङ्ग्रहालय, गल्फ क्लब र रङ्गशाला नजिकै रहेको शाकरपरियन क्षेत्रलाई प्रहरी र सुरक्षा फौजले लामबद्ध भएर घेरेका छन्।

पिएएफले उक्त दुर्घटनामा विमानचालक विङ्ग कमाण्डर नोमन अक्रमको मृत्यु भएको जनाएको छ।

हवाई फौजले उक्त दुर्घटना के कारणले भएको थियो भन्ने जाँचबुझका लागि पनि निर्देशन दिइसकेको जनाएको छ।

सामाजिक सञ्जालमा राखिएका भिडिओ सामग्रीहरूमा विमान तल झरेको र धुवाँको मुस्लो आकाशतिर गएको देखिन्छ।

उक्त भिडिओ घटनास्थलनजिकैको भवनबाट खिचिएको जस्तो देखिन्छ।

हवाई फौजले विज्ञप्तिमा भनेको छ, "मार्च २३ को परेडका लागि पूर्वाभ्यास गर्ने क्रममा पाकिस्तान हवाई फौज शाकरपरियन नजिकै पिएएफ-१६ दुर्घटना भएको जानकारी दुखका साथ गराउँछौँ।"

"दुर्घटना भएको क्षेत्रतर्फ उद्धार टोलीहरूलाई पठाइसकिएको छ।"

उसले थप भनेको छ, "हवाई मुख्यालयले घटनाको कारण पत्ता लगाउन जाँचबुझ बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ।"

पिएएफका प्रवक्ताले रोयटर्स समाचार संस्थालाई उनीहरूले "क्षतिको आंकलन" पनि गरिरहेको जनाएका छन्।

विशेष