News

सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ

सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ

काठमाडौं – शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् ।

उनले नेपाली सेनाका अहरी दमन सिंहदरबारमा कार्यरत सिपाही भीमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ घुस उठाएका थिए । रक्षा मन्त्रालयका तत्कालीन सचिवसँग आफ्नो राम्रो सम्बन्ध रहेको र शान्ति सेनामा पठाउन भूमिका खेलिदिने भन्दै बडुले भण्डारीबाट रकम उठाएका थिए ।

उक्त प्रकरणमा उच्च अदालत पाटनले १६ कात्तिक २०७५ मा बडुविरुद्ध २ लाख ५० हजार रुपैयाँ जरिवाना र २ महिना ४ दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका बडुले यसबीचमा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै २ जना व्यक्तिबाट २४ लाख रुपैयाँ समेत उठाएका थिए । फरार रहेका बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

विशेष