News

दाइजो दिन नसक्दा विवाह नै रोकियो

दाइजो दिन नसक्दा विवाह नै रोकियो

जनकपुरधाम । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको दाइजो दिन नसक्नु ।

धनुषाको नगराइन नगरपालिकास्थित जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विवाह धनुषाकै भुतही निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासँग २५ फागुनमा हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले दाइजोमा मोटरसाइकल दिन नसकेपछि सुशील सदा विवाह गर्न नै आएनन् ।

ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको बेचनी विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा तीन लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल पनि लगाइएको थियो । ‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि मोटर साइकल पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ बेचनीले भनिन् ।

विवाह नभएपछि पूजाको आँसु रोकिएको छैन । स्थानीय केही व्यक्ति मोटरसाइकल दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् पूजा । उनले एउटा मोटरसाइकलका लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् । यो समाचार आजको राजधानी दैनिकमा सुजितकुमार झाले लेखेका छन । 

विवाह

विशेष