महँगा स्कुलका विद्यार्थी थोत्रा गाडीमा
काठमाडौँ । राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । तर, भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् ।
विद्यालयले उपलब्ध गराएको सुविधाअनुसार सरकारले विद्यालयलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ चार स्तरमा वर्गीकरण गर्दै आएको छ । सरकारले शिक्षा नियमावलीअनुसार गर्ने वर्गीकरणका आधारमा विद्यालयले लिन पाउने शुल्क निर्धारण हुन्छ । विशिष्ट सुविधा दिएका विद्यालयले अभिभावकको भेलाबाट निर्णय गराई ‘क’ श्रेणीमा परेको विद्यालयले भन्दा अझै बढी शुल्क लिन पाउने व्यवस्था छ ।
तर, काठमाडौंमा ‘विशेष सुविधायुक्त’ भनिएका महँगा विद्यालयले समेत विद्यार्थी ओसार्न भाडाका पुराना गाडी प्रयोग गरेका छन् । एक विद्यालय हो, रातो बंगला । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा नजाँदै शिक्षा मन्त्रालयले रातो बंगलालाई ‘विशेष सुविधायुक्त’ भनेर अनुमति दिएको हो ।
उपत्यकामा धेरै गाडी प्रयोग गर्ने निजी विद्यालयमा जेम्स, लिटिल एन्जल्स, मोडर्न इन्डियन, आइडियल मोडेल, नाइटिंगल, डिएभी सुशील केडिया, द चाँदबाग, पाठशाला, सिद्धार्थ वनस्थली, एलआरआई, भिएस निकेतनलगायत छन् । सरकारले विद्यालयका बसलाई पहेँलो रङको बनाएर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर, अधिकांश विद्यालयले केही गाडी पहेँलो रङका प्रयोग गरे पनि केही भाडाकै प्रयोग गरेका छन् । कतिपय विद्यालयका आफ्नै गाडी पनि पुराना भएका छन् भने भाडामा ल्याउने सार्वजनिक यातायातसमेत पुराना हुने गरेका छन् । सस्तोमा पाइने भएकाले अधिकांश विद्यालयले लिने भाडाका गाडी बा.१ख र बा.२ख लटका छन् । यस्ता बसले धेरै धुवाँ फाल्दा र घ्वारघ्वार आवाज निकाल्दा विद्यार्थीलाई असर गर्ने गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
थोत्रा बस महंगा स्कुल