हतपती उठ्दैन उपभोक्ताको गुनासो सुनुवाइ हुने ११३७ नम्बर
काठमाडौँ । यो उपभोक्ताको गुनासो सुनुवाइ गर्न भनेर खोलिएको टोल फ्री नम्बर हो । तर समस्या परेर यसमा फोन गर्दा हतपती ‘रिसिभ’ हुँदैन, रिसिभ भइहाले सुनुवाइ हुँदैन, कहिलेकाहीँ त ‘अफ’ रहेको सन्देश आउँछ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोल फ्री नम्बर ११३७ चलाएको चार वर्ष भयो । तर उपभोक्ता यसबारे बेखबर थिए । गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फोनबाट उजुरी गर्न आग्रह गरेपछि टोल फ्री नम्बरमा बाक्लै घण्टी बजिरहेको छ । ‘फोन उठाउन भ्याइनभ्याई हुन्छ । सबै फोन उठाएर साध्य पनि हुँदैन । त्यसैले बेलाबखतमा अफ गर्न बाध्य हुन्छौं,’ विभागका एक अधिकारीले भने ।
विभागका अनुसार ११३७ नम्बरमा फागुन २३ यता दिनमा तीन सयभन्दा बढी कल आउने गरेको छ । पहिले भने छिटफुट मात्र घण्टी बज्थ्यो । विभागका सहसूचना अधिकारी दीपक पोखरेलले टोल फ्री नम्बरमा बिहान ४ देखि राति ११/१२ बजेसम्म फोन आउने गरेको बताए । ‘मास्क, सेनिटाइजर, ग्यास नपाएको भनेर फोन आउँछ,’ उनले भने, ‘आज (मंगलबार) नुन नपाएको गुनासो पनि आयो ।’ उनका अनुसार काठमाडौं उपत्यकाबाट ग्यास र नुन नपाइएको र मास्कको मूल्य बढी लिएको उजुरी परेका छन् । इटहरी, दमक, लहानलगायत क्षेत्रका उपभोक्ताको पनि ग्यास नपाइएको गुनासो छ ।
कोभिड–१९ को संक्रमण फैलिइहाले दैनिक उपभोग्य र स्वास्थ्यसम्बन्धी सामान नपाइने अनुमान गरेर उपभोक्ता सञ्चयतिर लागेका छन् । यही मौकामा केही व्यवसायीले कृत्रिम अभाव र कालोबजारी गरेको आशंका गरिएको छ । त्यसैले सरकारले गुनासो गर्न आग्रह गरेपछि ११३७ नम्बर व्यस्त भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन ।
११३७ टोल फ्री नम्बर