कोरोना भाइरसबाट अमेरिकामा पनि मानवीय क्षति, वासिङ्टनमा आपतकाल घोषणा
एजेन्सीः अमेरिकाले कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण आफ्नो भूमिमा पहिलोपटक मानिसको मृत्यु भएको बताएको छ ।
वासिङ्गटन राज्यमा स्वास्थ्य समस्या खेपिरहेका ५० बर्षीय एक पुरुषको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । चीनको उहानबाट फैलिएको कोरोनाले मानिसको ज्यान लिएपछि सो राज्यका गभर्नरले आपत्तकालिन स्थितिको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाको सम्भावित खतरासँग लड्न आफूहरु तयार रहेको दाबी गरेका छन् । शुरुमा चीनबाट शुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ ।
बीबीसीका अनुसार अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ । यसअघि पनि कोरोना संक्रमण फैलने डरले अमेरिकाले चीन र इरानसँगको यात्रामा कडाइ गरेको थियो ।
कोरोनाका कारण अहिलेसम्म झण्डै तीन हजार मानिसको ज्यान गइसकेको छ भने ८६ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
कोरोना भाइरस अमेरिका