भारतसँग यसकारण जोडिन चाहन्छन, पाकिस्तानी नियन्त्रणमा रहेको गिल्गिट बाल्तिस्तानका जनता
काठमाडौँ । पाकिस्तानको नियन्त्रणमा रहेको गिल्गिट बाल्तिस्तानका जनता भारतसँग जोडिन चाहेको बताईएको छ । पछिल्लो समय स्वतन्त्र कश्मीरको आवाज उठिरहेका बेला गिल्गिट बाल्तिस्तानका अभियन्ता सेङ्गे एच सेरिङले त्यहाँका जनतामा भारतसँग जोडिने इच्छा रहेको जनाएका हुन् ।
जम्मू कश्मीरसहित गिल्गिट बाल्तिस्तान भूराजनीतिक, आर्थिक, रणनीतिक एवं सैनिक रुपमा भारत र पाकिस्तान दुबै मुलुकका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । सन् १९४७ मा दुई मुलुक विभाजनदेखि भारतले पाकिस्तानी प्रशासनमा रहेको गिल्गिट बाल्तिस्तानको रणनीतिक अवस्थालाई नजिकबाट नियालीरहेको छ ।
भारत सरकारले संविधानको धारा ३७० खारेज गरेपछि रक्षामन्त्री राजनाथ सिंहले अब मोदी सरकारको अर्को एजेण्डा पाकिस्तानी अधिनमा रहेका कश्मीरी भूमिलाई भारत मातहत ल्याउनु रहेको बताइसकेका छन् । गिल्गिट बाल्तिस्तानका रजनीतिक अभियन्ता सेङ्गे एच सेरिङले भारतलाई उक्त भूभाग आफ्नो अधिनमा लिई त्यहाँका जनतालाई कठोर पाकिस्तानी औपनिवेशिक शासनबाट जोगाउन आह्वान गरेका छन ।
काराकोरम, हिमालय र हिन्दु कुश हिमश्रृङ्खलाको काखमा अवस्थित गिल्गिट बाल्तिस्तान भू रणनीतिक हिसाबमा पनि निकै महत्वपूर्ण मानिन्छ । काराकोरम राजमार्गमार्फत् यही भूभाग भएर चीनको पश्चिमी सिन्जियाङ प्रान्तले पाकिस्तानलाई जोड्छ । यो भूभागमा चीनले ६० अर्ब अमेरिकी डलर बराबरको लगानीमा बेल्ट एण्ड रोड इनिसेटिभ अन्तर्गत चाइना – पाकिस्तान इकोनोमिक करिडोर सिपेक परियोजनाहरुको निर्माण पनि गरिरहेको छ । यही करिडोरमार्फत् पाकिस्तान विश्व उर्जा बजारमा चीनको महत्वपूर्ण साझेदार समेत बन्न पुगेको छ ।
संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ४३ औं सम्मेलनमा बोल्दै सेरिङले त्यहाँका जनता भारतीय नागरिकताको पक्षमा निरन्तर रहँदै आएको र उनीहरुलाई पाकिस्तानी सेनाले दमन गरिरहेको समेत जनाए । यसअघि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले भारतीय सेनालाई जम्मू कश्मीरमा त्यहाँका नागरिकको सुरक्षार्थ तैनाथ गर्न आग्रह गरेको भन्दै उनले अहिलेको समयमा गिल्गिट बाल्तिस्तानमा पनि यस्तै हुनुपर्ने आवश्यकता रहेको जनाए ।
भारत सम्बन्ध गिल्गिट बाल्तिस्तान