विदेश

कोरोना भाइरसका कारण चीनको रक्षा उद्योगमा धक्का

कोरोना भाइरसका कारण चीनको रक्षा उद्योगमा धक्का

काठमाडौंः कोरोना भाइरसका कारण चीनको रक्षा उद्योगमा पनि नराम्रो प्रभाव परेको छ । कोरोनाका कारण त्यहाँका केही रक्षा उद्योगहरु अस्थायी रुपमा बन्दसमेत गरिएका छन् । 

अस्थायी रुपमा बन्द हुने चिनियाँ रक्षा उद्योगमा चीनको तेश्रो लडाकु विमानवाहक युद्धपोत निर्माण गरिरहेको जियाङनान शिपयार्ड, शाङ्घाई, वुहान शहरमा रहेको प्रमुख पनडुब्बी निर्माता कम्पनी वुचाङ शिपबिल्डर्स, इलेक्ट्रोम्याग्नेटिक क्याटापुल्ट, रेलगन, इलेक्ट्रिक प्रपल्सन र पनडुब्बी जस्ता नौ सैनिक प्रविधिमा काम गरिरहेको पीएलए नेभल युनिभर्सिटी अफ इन्जिनियरिङ वुहान रहेका छन् । 

यस्तै वुहान शहरका धेरै अत्याधुनिक कम्पनीका शोध तथा विकास विभागहरु, विमानवाहक युद्धपोतमा आधारित जे–१५ लडाकु विमान निर्माता कम्पनी सेन्याङ एअरक्राफ्ट, लियाओनिङ रक्षा उद्योग पनि अस्थायी रुपमा बन्द गरिएका छन् । 

उद्योग अस्थाईरुपमा  बन्द हुँदा चीनको जनमुक्ती सेनाको आधुनिकीकरणको योजनामा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । 

यस्तै सेनाको भर्ती तालिका यही महिना (मार्च)बाट सुरु हुने तय भए पनि कोरोनाका कारण सार्नु परेको छ । यद्यपि केही सैनिक तालिम भने शुरु भएका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

जनमुक्ति सेना अन्तर्गत वायुसेनाले गत फेब्रुअरी ९ देखि १० सम्म ताइवान नजिक लामो दुरीको हवाई तालिम सञ्चालन गरेको थियो । यो तालिममा बी–६, जे ११ र केजी–५०० एअरबोन वार्निङ एण्ड कन्ट्रोल सिस्टम अन्तर्गतका सैनिक विमान पयोग गरिएको थियो । 

सेनाले फेब्रुअरी ११ देखि १६ सम्म आयोजित सिंगापुर एअर शोमा पनि सहभागिता जनाएको थियो । 
यसैबीच चीनले कोरोना भाइरसविरुद्ध काम गर्न पनि सैनिकलाई परिचालन गरेको छ । कोरोनाको मुख्य केन्द्र वुहान शहरमा सेनाका करिब ४ हजार चिकित्सकलाई विमानमार्फत् परिचालन गरिएको छ । त्यहाँ सेनाको जोइन्ट लजिस्टिक सपोर्ट फोर्सका युनिटहरुले कोरोना प्रभावित क्षेत्रमा सहायता सामग्री उपलब्ध गराइरहेका छन् ।

वायुसेनाका पारवहन विमानहरुले चीनको कोरोना प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्य सामग्री ओसारपसार गरेका छन् । 

कोरोना भाइरसका कारण चीनविरोधी भावना बढ्दै 

चीनबाट ल्याइएका कोरोना भाइरसका बिमारीलाई पूर्वी कजाखस्तानको जइशन जिल्लामा राख्ने कदमको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् । चिनियाँ कोरोना संक्रमितलाई राख्ने भनिएको एउटा अस्पतालमा नै स्थानीयहरुले तोडफोड गरी क्षति पुर्याएका छन् । यद्यपि स्थानीय अधिकारीले भने उक्त अस्पताल चिनियाँ विरामीका लागि नभएर चीनबाट फर्केका कजाख कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राख्नका लागि प्रयोग गर्न बनाइएको दाबी गरेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तस्थित थार कोइला कारखानामा ७ सय भन्दा धेरै कामदारहरु काम गर्दै आएका छन् । ३ सय जनामा कोरोना भाइरस नभएको पुष्टि भएपनि अरुलाई आवश्यक परीक्षणका त्यहाँ प्रवेश दिइएको छैन ।

चीनबाट फर्केका कामदारलाई क्वारेन्टाइनमा राख्नका लागि कराँची शहरमा अस्थायी अस्पताल बनाइएको छ । १ सय जनाभन्दा धेरै चिनियाँ विदामा घर गएका छन् । यसैबीच थारका जनताले सिन्धका प्रान्तीय अधिकारीहरुसमक्ष चिनियाँ कामदारलाई स्क्रिनिङ गरीमात्र काममा पठाउन आग्रह गरेका छन् ।
 

कोरोना भाइरस रक्षा उद्योग

विशेष