News

एक सय २० रुपैयाँमा मास्क बेच्ने बानेश्वरको भरोसा फार्मेसीलाई २ लाख जरिवाना

एक सय २० रुपैयाँमा मास्क बेच्ने बानेश्वरको भरोसा फार्मेसीलाई २ लाख जरिवाना

 काठमाडौंः २० रुपैयाँ पर्ने मास्कलाई १ सय २० रुपैयाँमा बेच्ने बानेश्वरस्थित भरोसा फार्मेसीलाई २ लाख जरिवाना गरिएको छ ।

फार्मेसीलाई बुधबार वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले २ लाख जरिवाना गरेको हो । विभागका सहायक सूचना अधिकारी दिपक पोखरेलका अनुसार बढी मूल्यमा मास्क बेचेको आधारमा भरोसालाई जरिवाना गरिएको हो । 

यस्तै, फार्मेसीले सर्जिकल सामग्रीको कृत्रिम अभाव समेत गराएको विभागको दावी छ । ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ)  कसुरमा दफा ३९ (१) (ख) बमोजिम जरिवना गरेका छौ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ । उक्त दफामा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा वनावट आदी ढाँटी लुकाई छिपाई वा भुक्याई त्यस्तो वस्तु वा सेवा प्रदान गर्न नपाइने उल्लेख छ ।

अनुगमन टोलीले क्षेत्रपाटीमा रहेको पुरी सजिर्कल इक्युमेन्ट सप्लायर्स, क्षेत्रपाटीमै रहेको शुलभ हेल्थ केयर प्रोडक्टस प्रा.लि, ओएसबी इन्टरप्राइजेजलाई पनि जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ।

खरिद बिल नराखेको कसुरमा क्षेत्रपाटीकै क्रेकस इन्टरप्राइजेज, काठमाडौ ट्रेड कन्सर्न, स्पेलण्डिड ट्रेडर्सलाई २० हजार रुपैयाँको दरले जरिवना गरेको विज्ञप्तिमा उल्लेख छ ।

मास्क भरोसा फार्मेसी

विशेष