घुस काण्डमा श्रीमतीको नाम जोडिएपछि बोले मन्त्री भट्टराई
काठमाडौंः श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएपछि पर्यटनमन्त्री योगेश भट्टराईले मुख खोेलेका छन् । उनले घुस प्रकरणबारे सम्बन्धित निकायले धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ’, उक्त विषयमा ट्वीट गर्दै मन्त्री भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’
के हो घटना ?
पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् ।
नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी जिता बरालले उक्त कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी हुन् र त्यसमा घिमिरेको नाम जोडकी छन् ।
उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् । बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ ।
च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । तीन लाखमध्ये एक लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने जिताले च्याटमा उल्लेख गरेको देखिएको छ । घुसको वार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घुस प्रकरण विन्दा घिमिरे