जंकफुडबाट बचाउन विद्यालयमा करेसाबारी

जंकफुडबाट बचाउन विद्यालयमा करेसाबारी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । यो कार्यक्रम लागू भएपछि जंकफुड खानुपर्ने विद्यार्थीको बाँध्यता हट्ने छ ।

भूमेश्वरी माध्यामिक बिद्यालय हेलम्बु २ किउलमा पढ्ने करुणा गुरागाईँ भन्छिन– ‘करेसाबारी कार्यक्रमले आफूहरूलाई पढ्न निकै सजिलो बनाएको छ । लेख्नका लागि प्राक्टिकल पनि भइरहेको छ । अहिले हामीले करेसाबारीमा काम गरिहेका छौं ।  यहाँ फलेको चिज हामीलाई खाजा पनि हुन्छ । बाहिर किन्दा एक त पैसा खर्च हुन्छ, अर्को जंक फुड स्वास्थ्यका लागि राम्रो पनि होइन ।’

करुणा जस्तै यहाँका सबै शिक्षक, विद्यार्थी र अभिभावक करेसाबारीको अवधारणाबाट खुशी छन् । विद्यालय हाताभित्र आफैँले मेहेनत गरी उत्पादन गरेको ताजा तरकारी खान पाउँदा खुशी लागेको अर्का विद्यार्थी सुधा गुरागाईँको भनाइ छ । 

गाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् । तरकारी उत्पादनका लागि अभिभावकहरूले प्राङ्गारिक मल, बिउ उमार्ने, टनेल हाल्ने, बिउ रोप्नेजस्ता काममा सहयोग गरेका छन् ।

विद्यालयमा बनिबनाउ खानेकुरा (जंक फुड) को प्रयोग बढेपछि यसको नियन्त्रणका लागि गाउँपालिकाको प्रत्येक विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरेको गाउँपालिकाले जनाएको छ ।

अभिभावकहरूलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीरहित खानेकुरामा प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

उनले भने– ‘खाजा कार्यक्रम छ, नेपाल सरकारको । तरकारी कि त किनेर खुवाउनु पर्छ । प्रत्येक विद्यालयमा अहिले किचन गार्डेन भनेर गाउँपालिकाले लगानी गरेर ग्रिन हाउस दिएको छ । बनाउन सिकाइरहेका छौं । बिउ दिएका छौं । उहाँहरूलाई बोलाएर तालिम दिइरहेका छौं । ’

३४ वटा सामुदायिक विद्यालयमा सुरु गरिएको यो कार्यक्रमबाट झन्डै ६ हजार बालबालिका लाभान्वित भएका छन् ।

हेलम्बु गाउँपालिका खाजा कार्यक्रम

संम्बधित खबर

विशेष