News

निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएन

निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएन

काठमाडौँ । निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिन नसकेपछि दोस्रोपटक ‘हेर्दाहेर्दै’ मा परेको छ। विमानस्थलका लागि रुख काट्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चको बृहत् पूर्ण इजलासले ‘हेर्दाहेर्दै’ राखेको हो।

यसअघि फागुन ११ मा बहस नटुंगिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। मुद्दाको अन्तिम टुंगो लगाउन न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा रहेको बृहत् पूर्ण इजलास गठन गरिएको थियो। पाँच जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले मुद्दा प्रक्रियालाई निरन्तर सुनुवाइमा राखेको हो।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले विमानस्थलको रुख काट्न नदिने सम्बन्धमा परेको निवेदनको अन्तिम फैसला गर्ने अधिकार बृहत् पूर्ण इजलासलाई दिने निर्णय गरेको थियो।

सर्वोच्चले गत मंसिर २१ मा रुख काट्न दिने सरकारी निर्णय यथास्थितिमा राख्न आदेश गरेको थियो। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले रुख काट्नुको कारण सरकारसँग माग्दै निर्णय यथास्थितिमा राख्न आदेश गरेको थियो। अदालतको आदेशले विमानस्थल बनाउन रुख काट्न नपाउँदा सरकारले सर्वोच्चको निर्णय कुरेर बस्नुपरेको छ। यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छिन् । 

निजगढ रुख कटान

विशेष