News

वडाध्यक्षले दलित युवतीलाई छोरी मानेरको विवाह गरिदिए

वडाध्यक्षले दलित युवतीलाई छोरी मानेरको विवाह गरिदिए

सिराहाका विभिन्न ठाउँमा कथित दलित भन्दै छुवाछुत र दुव्र्यवहारका घटना भइरहेका वेला एक जनप्रतिनिधिले आफ्नै घरमा बस्दै आएकी मुसहर युवतीको छोरी जसरी विवाह गरिदिएका छन् । गोलबजार नगरपालिका–६ का वडाध्यक्ष वसन्त लामाले बिहीबार आफ्नै आँगनमा जग्गे राखेर नरहा गाउँपालिका–५ का जितन सदायकी जेठी छोरी २१ वर्षीया अंकिता भनिने अमरवती सदायको विवाह गरिदिएका हुन् । 

विवाहको कर्म सकेर रुँदै बिदा हुन लागेकी अंकितालाई सम्झाउँदै लामा दम्पतीले ‘नयाँ घरमा सबैलाई रिझाएर राम्ररी घर गरेर खानू’ भन्दै आशीर्वाद दिएर अन्माए । ‘६ वर्षकै उमेरमा सडक दुर्घटनामा आमा घुर्नीदेवीलाई गुमाएकी अंकितालाई बाबु जितनले लालनपालन गर्न नसकेपछि १५ वर्षअघि आफ्नै घरमा ल्याएर राखेँ,’ वडाध्यक्ष लामाले भने, ‘घरमा दुई छोरा र एक छोरी थिए, अंकितालाई पनि छोरी मानेर लालनपालनसहित हुर्काएँ ।’ ‘गाउँकै विद्यालयमा पढाएँ’ उनले भने, ‘विवाह गर्ने उमेर भएकाले आफैँले केटा खोजिदिएर विवाह गरिदिएको हुँ ।’

अंकिताको विवाह धनगढीमाई नगरपालिका–९ मुसहर्नियाका २३ वर्षीय बेदी सदायसँग भएको हो । ‘चारचोटि दुलहाको घर पुगेर परिवारसँग कुराकानी गरेपछि विवाह गरिएको हो,’ वडाध्यक्ष लामाले भने, ‘विवाहमा आएका जन्तीको खानपिन, दुलहा र दुलहीलाई एकसरो लत्ताकपडा, गरगहना गरी करिब अढाई लाख रुपैयाँ खर्च भयो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

विशेष