News

प्रदेश २ लाई 'विशेष प्रदेश' घोषणा गर्न प्रभु शाहको विशेष प्रस्ताव

प्रदेश २ लाई 'विशेष प्रदेश' घोषणा गर्न प्रभु शाहको विशेष प्रस्ताव

काठमाडौँ । नेकपाका सांसद प्रभु शाहले प्रदेश नम्बर २ लाई बिशेष प्रदेशको रुपमा घोषणा गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपा नेपालका लक्ष्मणलाल कर्णको समर्थनमा संघीय संसदको प्रतिनिधिसभामा उक्त सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

‘नेपालको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकन डलर रहेकोमा यस क्षेत्रका नागरिकको औसत आय अमेरिकन डलर ५ सय ७० मा सिमित रहनुपरेको छ, सबैभन्दा डरलाग्दो तथ्याङ्क यो छ कि, यस क्षेत्रको मृत्युदर पनि क्रमिक रूपमा बढ्दै गइरहेको छ’ साहले दर्ता गरेको प्रस्तावमा तथ्याङ्क उल्लेख गर्दै भनिएको छ, ‘संघीय शासनप्रणाली लागू भएपश्चात नेपाल सरकारबाट घोषित नीति तथा कार्यक्रमअनुसार प्रदेश सरकारलाई प्राप्त अनुदान रकम खर्च हुन नसकी फ्रिज हुने क्रममा जारी नै छ, एक आर्थिक वर्षमा फ्रिज भएको रकम अर्को आािर्थक वर्षमा थप पठाउने अभ्यास पनि छैन ।’

जातीय विभेद, गरिबी तथा पछौटेपनको रोगबाट आक्रान्त प्रदेश २ का नागरिकले मुक्ति पाउन नसकेको जनाउँदै सो प्रदेशका नागरिकको आयु वृद्धिका लागि आधारभूत स्वास्थ्य, शिक्षा र रोजगारी बढाउन पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।  सबै प्रकारका विभेद अन्त्य गर्न तथा समानताको हकको प्रभावकारी कार्यान्वयन गर्दै संविधानको मर्म अनुरुप प्रस्ताव दर्ता गराइएको हो ।

साथै ऐतिहासिक धार्मिक, संस्कृतिक आदिको क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि राज्यको बिशेष पहलकदमीको अभावले प्रदेश नम्बर २ का एउटा पनि सम्पदा बिश्व सम्पदा सुचिमा सुचिकृत हुन् नसकेको प्रस्तावमा उल्लेख छ।

 

प्रदेश २ प्रस्ताव प्रभु शाह विशेष प्रदेश

विशेष