News

प्रकोपबाट मृत्यु भए परिवारलाई २ लाख

प्रकोपबाट मृत्यु भए परिवारलाई २ लाख

वीरेन्द्रनगरः कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपमा परी कर्णालीवासीको मृत्यु भए दुई लाख रुपैयाँको बिमा रकम उपलब्ध  गराउने भएको छ । गत असोज १ मा प्रदेश सरकारले कर्णालीका सबै नागरिकको एकमुष्ट बिमा गर्न राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेको थियो ।

असोजमा गरिएको सम्झौतामा विपद्‍बाट ज्यान गुमाउनेका परिवारले एक लाख रुपैयाँ पाउने घोषणा गरिएकोमा शनिबारदेखि दोब्बर बनाएर कार्यान्वयन गर्दैछ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १७ लाख ७० हजार नागरिकको सामूहिक बिमा गरिएको बताए । उनका अनुसार यसबाहेक ६ महिना भन्दा बढी कर्णालीमै रहेर काम गरिरहेका कर्मचारीको पनि प्रदेश सरकारले बिमा गर्ने भएको छ ।

यसअघिको सम्झौतामा प्रतिव्यक्ति सात रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम बुझाउने उल्लेख भएकोमा अब प्रतिव्यक्ति आठ रुपैयाँ ४८ पैसा पर्नेछ । सरकारले बिमा कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ कम्पनीलाई बुझाएको छ ।

मन्त्री भण्डारीले विपद्को उच्च जोखिममा रहेका प्रदेशका १० हजार घरको पनि वार्षिक प्रतिघरधुरी पाँच सयका दरले बिमा गरिएको बताए । यसबापत प्रदेश सरकारले कम्पनीलाई वार्षिक ५० लाख रुपैयाँ तिर्नेछ । ‘पहिलो वर्ष आवास बिमाका लागि हामीले ट्रायल गरेका हौँ,’ उनले भने, ‘कर्णालीमा जोखिममा रहेका घरहरु मात्रै छनोट गरी बिमा गरेका छौँ, रकम भुक्तानी गर्दा वास्तविक क्षति मुल्यांकन गरी एक घरको अधिकतम पाँच लाखसम्म भुक्तानी दिइनेछ ।’

बिमा कम्पनीका कार्यकारी अधिकृत डा. डिल्लीराज अधिकारीले स्थानीय र प्रदेश सरकारको सिफारिस तथा प्रहरीको मुचुल्काको आधारमा दाबी भुक्तानी दिइने बताए । उनका अनुसार दुर्घटनाबारे स्थानीय तहले घटना भएको १५ दिनभित्र कम्पनीलाई सिफारिस र घटनाको प्रकृतिबारे जानकारी दिनुपर्नेछ ।

प्राकृतिक विपद्बाहेक आफै, सवारी दुर्घटना र विभिन्न खेल खेल्ने क्रममा मृत्यु भए बिमा रकम पाइने छैन । कर्णालीमा विभिन्न महामारी, भीरबाट लडेर, खोला वा नदीमा बगेर पनि धेरै नागरिकको मृत्यु भएको छ । तर, सरकारले गरेको सामूहिक बिमाअन्तर्गत यसलाई प्राकृतिक विपद् मानिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कर्णाली प्रदेश प्राकृतिक प्रकोप बिमा

विशेष