पोखराको बजारमा ग्राहकको भेषमा उद्योगमन्त्रीको छड्के अनुगमन

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पोखराका बजारमा पसल र डिपार्टमेन्टल स्टोरमा ग्राहकको भेष गरेर छड्के अनुगमन गरेका छन् ।
मन्त्री भट्टले शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर छड्के अनुगमन गरेका हुन् । डिपार्टमेन्टल स्टोरमा छिरेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे जिज्ञासा राखेका थिए ।
अनुगमनका क्रममा एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन मागेका थिए । नुनको मूल्य सोध्दा डिमार्टमेन्टल सञ्चालक महिलाले एक प्याकेटको २५ रुपैयाँ बताइन् ।
त्यसपछि मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको बताएपछि जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको प्रतिक्रिया दिइन् ।
ती महिलाले यति बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर मागेर फाेन गरे । मन्त्री भट्टले बढी मूल्य लिने व्यापारीलाई आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइसकेका उनकाे सचिवालयले जनाएकाे छ ।
मन्त्री भट्टकाे सचिवालयका अनुसार पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या पाइएन ।
यसअघि मन्त्री भट्टले काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए ।
लेखराज भट्ट छड्के अनुगमन