शिकार खेल्न आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते
दैलेखः शिकार खेल्न जंगलमा आफैँले बोकेर गएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही रहेका छन् ।
उनको दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउँदले बताए ।
दैलेख जिल्ला अस्पतालका डा. जगत थापाका अनुसार निरगाबाट झण्डै ४ घण्टाको पैदल दूरीमा रहेको चुकेढाण भन्ने जंगलमा गोली लागेलगतै अपरान्ह अस्पतालमा पुर्याइएका शाहीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
घाइतेको जीउमै गोली रहेकोले गोली निकाल्न र हत्केलाको हड्डी छियाछिया भएको कारण ‘अर्थोपेडिक मेनेज्मेण्ट’का लागि घाइतेलाई सुर्खेत पठाइएको डा. थापाले बताए । एक्स–रे गरेर हेर्दा साँप्रामा गोली अड्किएको र हत्केलाका हड्डीहरु छियाछिया भएको देखिएको उनले जानकारी दिए ।
जीप रिजर्भ गरेर घाइतेलाई उपचारका लागि दैलेख अस्पताल ल्याएका आफन्त समेत भागेको कारण प्रहरीले घटनालाई शंकास्पद भनेको छ । स्थानीयका अनुसार बिर्षबहादुरलाई गोली लाग्दा त्यहाँ ६ जना सिकारी थिए ।