विषाक्त मदिराले लियो एकै गाउँका ११ जनाको ज्यान
जनकपुरधाम । होली पर्वको अवसरमा अत्याधिक घरेलु मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा ११ जनाको मृत्यु भएको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो ।
एक साताअघि पनि विषाक्त मदिरा सेवनबाट नै ५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए । अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ ।
अहिले पुरै गाउँ शोकमा डुवेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
विषाक्त मदिरा