विदेश

पकिस्तानमा कोरोना त्रासः खाद्य सामग्री र अत्यावश्यक सामानको जोहो

पकिस्तानमा कोरोना त्रासः खाद्य सामग्री र अत्यावश्यक सामानको जोहो

पाकिस्तानी अधिकारीहरुले कोरोना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताइरहँदा सामाजिक सञ्जालमा यसबारे गलत हल्ला फैलिरहेको छ । परिणमस्वरुप त्यहाँ मानिसहरुले अब कफ्र्यू नै लाग्ने हो कि झैं खाद्य सामग्री र अरु अत्यावश्यक सामानको जोहो गर्न थालेका छन् । यसलाई पाकिस्तान सरकारले सक्दो चाँडो नियन्त्रण गर्न आवश्यक छ ।

कोरोना भाइरसको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले विश्व महामारी भनी घोषणा गरिसकेको छ  । यसबाट विश्वभर ४६ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । एक लाख २५ हजारभन्दा धेरै संक्रमित छन् । तर, विश्वभर हरेक वर्ष मौसमी रुघाखोकी र ज्वरोका कारण कोरोना भाइरसले भन्दा धेरै मानिसहरुको ज्यान जाने गर्छ । तर, यस्ता मौसमी रुघाखोकीका बेला भने मानिसहरु आत्तिदैनन् । 

यतिबेला मानिसहरुले निकै सावधानीपूर्वक काम गर्नु जरुरी छ । कोरोना भाइरसबाट जोगिन विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मीहरुले मानिसहरुलाई नियमित हात धुन र भीडभाडयुक्त क्षेत्रमा नजान सुझाव दिएका छन् । यसका साथै जिम्मेवारी पनि जरुरी छ । यो भाइरस पाकिस्तान प्रवेश गर्न एक महिना भन्दा धेरै समय लाग्यो । यो एक महिनाको समयमा पाकिस्तानमा कुनै किसिमको तयारी भइरहेजस्तो छैन । पाकिस्तान सरकारले सबै अस्पताल र स्वास्थ्य चौकीहरु यो भाइरससँग जुझ्न सक्ने बनाउनुपर्छ ।

हाल पाकिस्तानमा देखिएका २२ मध्ये धेरै कोरोना भाइरसका संक्रमितहरुले छिमेकी मुलुक इरानको भ्रमण गरेका थिए । हाल पाकिस्तानी विमानस्थलमा कोरोना भाइरसको परीक्षणका लागि स्क्रिनिङ भइरहेको छ । कोरोना भाइरसले अत्यन्त प्रभावित रहेको छिमेकी मुलुक इरानसँगको सीमा पनि उत्तिकै कडा पारिएको छ भने हवाई सेवासहित अन्य यातायात र पारवहन पनि बन्द गरिएको छ ।

बाहिर कोरोना भाइरसबारे जे जस्तोसुकै हल्ला फैलिएपनि यसबाट संक्रमित ९७ प्रतिशत मानिसलाई केही हुन्न । त्यसका साथै रोकथामका सामान्य उपाय अपनाएको खण्डमा यो सर्दा पनि सर्दैन । पाकिस्तानको सबैभन्दा ठूलो समस्या त्यहाँको दयनीय स्वास्थ्य सेवा हो ।

परिणमस्वरुप त्यहाँका अस्पतालहरु हेपाटाइटिस, हैजा, टाइफाइडजस्ता सामान्य रोगका लागि संघर्ष गर्नुपरेको अवस्था छ । पाकिस्तानले आफ्ना नागरिकलाई स्वच्छ पानी पनि उपलब्ध गराउन सक्दैन । यसैकारण पाकिस्तान कोरोना भाइरसजस्ता संक्रमणको उच्च जोखिममा छ । यसको समाधानका लागि स्वास्थ्यकर्मीहरुलाई नयाँ समस्यासँग जुझ्न उचित तालिम दिनुपर्ने जरुरी छ । –एजेन्सी

पाकिस्तान खाद्य सामग्री अत्यावश्यक सामान

विशेष