विदेश

पाकिस्तानमा २२ जनामा कोरोना संक्रमण, नियन्त्रण गर्न समस्या

पाकिस्तानमा २२ जनामा कोरोना संक्रमण, नियन्त्रण गर्न समस्या

पाकिस्तानमा कोरोना भाइरसका २२ संक्रमित देखा परिसकेका छन् । इरानले कोरोना भाइरसको संक्रमण पुष्टि गर्ने बित्तिकै पाकिस्तानमा पनि कोरोना भाइरसका संक्रमित देखा परे । पाकिस्तानी अधिकारीहरु आफ्नो मुलुकमा कोरोना भाइरसलाई भित्रन नदिनका लागि केही पनि गर्ने अवस्थामा थिएनन् । तैपनि पाकिस्तानले इरानसँगको सीमा तत्काल बन्द गर्न चाहेन ।

पाकिस्तानमा शुरुमा दुई संक्रमितहरु पत्ता लगिसकेपछि मात्र पाकिस्तानले इरानसँगको सीमा बन्द गर्ने कदम चाल्यो । ती दुबै संक्रमितहरु इरानबाट पाकिस्तान फर्केका थिए । तीमध्ये एकजनाले विमानस्थलमा राखिएको स्क्रिनिङ परीक्षणबाट पनि निस्केका थिए । यसले पाकिस्तानी विमानस्थलमा चलिरहेको स्क्रिनिङको प्रभावकारीमाथि गम्भीर प्रश्न उठ्न पुगेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य सम्बन्धी सल्लाहकार डा. जाफर मिर्जाले पाकिस्तानमा ठूलो प्रकोपको रुप नलिने आशा जनाइरहँदा यसमाथि प्रश्न गर्ने प्रशस्त ठाउँहरु छन् । उनले यसको नियन्त्रणका लागि सक्दो प्रयास भइरहेको जनाएका थिए । तर, पाकिस्तानलाई रेबिजजस्तो रोग नियन्त्रण गर्न समेत हम्मेहम्मे परिरहेका बेला उनको आशामा शंका गर्ने धेरै ठाउँहरु छन् ।

डा. मिर्जाले मानिसहरुलाई नआत्तिन समेत आह्वान गरे । आम सर्वसाधारणलाई नभई उनले मुलुकका स्वास्थ्य अधिकारीलाई नआत्तिकन शान्त भएर यसविरुद्ध लाग्न सुझाव दिनुपथ्र्यो ।
पाकिस्तान सरकारले गर्नुपर्ने धेरै कामहरु छन् ।

पाकिस्तानले इरानतर्फ जाने र त्यहाँबाट आउन सबै उडान बन्द गरिसकेको छ । त्यस्तै, इरान र अफगानिस्तानसँग सीमा जोडिएका क्षेत्रमा पनि कडाई गर्नुपर्ने जरुरी छ । यस भाइरसको नियन्त्रणका लागि तालिम दिनका लागि विदेशी विज्ञहरुलाई डाक्नुपर्ने आवश्यकता पनि उत्तिकै छ ।

सिन्ध प्रान्तको सरकारले अस्पताललाई नै क्वारेन्टाइनका लागि स्थान तोकेको छ । यही काम कोरोना भाइरसको उच्च जोखिममा रहेको बलोचिस्तान प्रान्तसहित मुलुकका अन्य भागमा पनि हुनुपर्छ ।
कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले विश्व महामारी घोषणा गरिसकेको छ । यसका कारण विश्वभर ४६ सय जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु १ लाख २५ हजार जनाभन्दा धेरै संक्रमित छन् ।

कोरोना भाइरसको जोखिम यतिबेला मानव स्वास्थ्य भन्दा पनि अर्थतन्त्र, विश्वव्यापी कूटनीति र समाजमा पनि उत्तिकै छ । अहिले पाकिस्तानले यसको रोकथामका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिनुपर्छ ।
 

कोरोना भाइरस पाकिस्तान

विशेष