News

एसईई परिक्षामा बिशेष सावधानी अपनाइने

एसईई परिक्षामा बिशेष सावधानी अपनाइने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ ।

झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ ।

विद्यालयमै नर्सको सुविधा

ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ । प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन् ।

डेस्कबेन्चको समेत सरसफाइ

कलङ्कीस्थित जनपथ माध्यमिक विद्यालयले कोरोना भाइरसको सङ्क्रमणले विद्यार्थीमा परीक्षाको अवधिमा मनोबल घट्न नदिन सरसफाइ लगायत कार्य सुरु गरेको छ । परीक्षामा आएका विद्यार्थीलाई मास्क प्रयोग गर्न लगाउने, बिरामी भए अलग्गै कोठामा राख्ने र अभिभावकलाई परीक्षा केन्द्र वरपर अनावश्यक जमघट र भीडभाड नगर्न आह्वान गरिएको छ ।

घरबाटै पानी ल्याउन सुझाव

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रमा आउँदा घरबाटै पानी ल्याउन, एक अर्कामा धेरै नजिक नहुन, परीक्षामा आउँदा मास्कको अनिवार्य प्रयोग गर्न, साथीसित परीक्षा हलभित्र धेरै नजिक नहुन, शौचालय गएको अवस्थामा साबुनपानी प्रयोग गर्न सुझाव दिएको छ । विद्यार्थीलाई भाइरसको कुनै भय नहोस् भन्ने हिसाबले आफूहरू यसखाले तयारीमा जुटेको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिए । 

अलग्गै हेल्थ डेस्क

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एसईई परीक्षा मर्यादित र भाइरसको सङ्क्रमणबाट समेत सुरक्षित बनाउनुपर्ने चुनौती आएको छ । त्यसमा आवश्यक काम भइरहेको जानकारी दिए । स्थानीय तथा प्रदेश सरकारसित समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीको सहयोगले विद्यार्थीको तापक्रम परीक्षण गरेर मात्रै परीक्षामा राख्ने प्रवन्ध मिलाउनुपर्ने कुरा बताए। । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन ।  

एसईई परिक्षा सावधानी

विशेष