News

नेविसंघका कार्यकर्ताले भत्काए सीमास्तम्भ

नेविसंघका कार्यकर्ताले भत्काए सीमास्तम्भ

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले नेपाली भूमिमा गाडेका सीमास्तम्भ शनिबार नेविसंघका कार्यकर्ताले भत्काइदिएका छन् । कांग्रेसका नेताहरूसहित पुगेको टोलीले सीमास्तम्भ गाड्नका लागि खनिएका खाल्डाहरू पनि पुरेको छ ।

बेलडाँडी नगरपालिका–३, वैवाहमा बनाइएको ७८३/४ नम्बरको सहायक सीमास्तम्भ संघका कार्यकर्ताले भत्काएका हुन् । उनीहरूले बेलडाँडी र बेलौरी नगरपालिकाका विभिन्न स्थानमा पाँचवटा खाल्डा पुरेका हुन् । ‘नेपालको जमिनमा बनाएको पिल्लर भत्कायौं, पिल्लर हाल्नका लागिखनेका खाल्डा पनि पुरेका छौं,’ नेविसंघका निवर्तमान सहमहामन्त्री अच्युतराज कलौनीले भने, ‘दर्ता जमिनमा कसरी सीमास्तम्भ निर्माण भयो ?’

भत्काइएको सहायक सीमास्तम्भ सर्भे टोलीले हालै बनाएको हो । अन्य क्षेत्रमा स्तम्भ बनाउन खाल्डो खनिएको थियो । ‘संयुक्त टोलीले नयाँ पिल्लरका लागि अधिकांश खाल्डा नेपाली भूमिमै खनेको थियो,’ बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले भने । उनका अनुसार अहिले संयुक्त टोलीले खनेका खाल्डालाई सीमा मान्दा बेलडाँडीमा मात्रै पाँच बिघाभन्दा बढी दर्ता जमिन भारततर्फ जाने देखिएको छ । यसैगरी बेलौरी नगरपालिकामा ५० बिघाभन्दा बढी जमिन भारततर्फ परेको छ ।

‘अहिलेको आधारमा धेरैको दर्ता जमिन भारततर्फ गएको छ,’ बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले भने, ‘हामीले नक्सा सच्याउन माग गर्दै सर्वपक्षीय छलफल गरेर काम रोकेका छौं ।’ उनका अनुसार अघिल्लो शनिबार नगरपालिकामा भएको छलफलपछि संयुक्त सर्भे टोलीले काम स्थगित गरेको छ । कञ्चनपुरमा संयुक्त टोलीले फागुन १ देखि काम सुरु गरेको थियो । सर्भेका क्रममा बिजोर स्तम्भ नेपाली टोलीले र जोर स्तम्भ भारतीय टोलीले निर्माण गरिरहेका हुन् । नेविसंघले भत्काएको स्तम्भ नेपाली टोलीले बनाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

सीमास्तम्भ भत्काईयो

विशेष