News

पुरानै लयमा फर्किंदै प्रधानमन्त्री

पुरानै लयमा फर्किंदै प्रधानमन्त्री

काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए ।

आइतबार उनी अझ सक्रिय देखिए । आइतबार प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरूबीच भएको भिडिओ कन्फरेन्समा सिंहदरबारस्थित एक्सन रुमबाट सम्बोधन गरे ।

१९ फागुनमा मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका उनी १२ दिनपछि बालुवाटार फर्केका हुन् । प्रधानमन्त्री ओली शनिबारबाटै छलफलमा सहभागी हुन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘उहाँ पुरानै लयमा फर्कंदै हुनुहुन्छ । नियमित काममा अग्रसर भइरहनुभएको छ,’ थापाले राजधानीसँग भने ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा आइतबार भएको सार्क राष्ट्र प्रमुखको भिडिओ कन्फरेन्समा प्रधानमन्त्रीले नेपाल कोरोनाविरुद्ध मित्र राष्ट्रसँग मिलेर लड्न तयार रहेको बताएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि केही समय बालुवाटारमै आराम गर्ने बताइए पनि प्रम ओलीले सक्रियता बढाएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा सुभास शाहले लेखेका छन । 

प्रधानमन्त्री व्यस्त

विशेष