विदेश

कोरोना भाइरसबाट अष्ट्रेलियामा पनि एक जनाको मृत्यु

कोरोना भाइरसबाट अष्ट्रेलियामा पनि एक जनाको मृत्यु

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अष्ट्रेलियामा पनि एक जनाको मृत्यु भएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृतइु भएको हो ।  

कोरोनाबाट ज्यान गुमाएका ती पुरुषको परिचय भने खुलाइएको छैन । ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अष्ट्रेलियाले पुष्टि गरेको हो । 

ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो । क्वारेन्टाइन क्याम्पबाट आइसोलेशनमा पुर्‍याइएपछि उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । मृतककी पत्नीको अहिले आइसोलेशनमा उपचार भइरहेको छ । 

यसअघि कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गइसकेको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।  

कोरोना भाइरस अष्ट्रेलिया

विशेष