News

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

काठमाडौंः निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुंगो लाग्न सकेको छैन । टुटल–पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन ।

यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए । उनले भने, ‘अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।’ यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो ।

विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि–निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका थिए । 

यातायात व्यवस्था विभाग टुटल–पठाओ

विशेष