संविधानको धारा ३७० को खारेजीले जम्मु कश्मिरको राजनीतिमा निम्त्याएको प्रभाव
काठमाडौ । भारत सरकारले गरेको संविधानको धारा ३७० खारेजले जम्मु कश्मिरको राजनीतिमा प्रत्यक्ष प्रभाव परेको छ । गत वर्ष अगष्ट ५ का दिन संविधानको धारा ३७० को खारेजी र जम्मू कश्मीर राज्यलाई दुई भागमा पुनर्गठन गर्ने घोषणाले मुख्यगरी त्यहाँको राजनीतिमा प्रभाव परेको हो।
त्यहाँको राजनीतिका ठूला नेताहरु महबुबा मुफ्ती, ओमर अब्दुल्लाह र फारुख अब्दुल्लाहसहितका प्राय सबै नेताहरुलाई नजरबन्दमा राखियो । यसकारण त्यहाँ राजनीतिक गतिविधिमा पनि कमी आयो भने मानिसहरु उनीहरुको रिहाई कहिले होला र त्यहाँ राजनीतिक गतिविधि पुनः सामान्य बन्ला भनी प्रश्न गर्न थाले । यस प्रकारको गतिरोध र त्यससँगैको राजनीतिक शून्यता सँधै नरहने त्यहाँको वास्तविकता हो ।
पछिल्ला दुई महिनामा सुस्त गतिमै भएपनि त्यहाँको जनजीवन सामान्यतर्फ फर्किंदै गएको छ । ल्याण्डलाइन र २जी गतिका इन्टरनेट खुल्ला गरिएको छ भने सामाजिक सञ्जाल पनि विस्तारै खुकुलो पारिँदैछ । कश्मीर उपत्यकाका मानिसहरुले पूर्ण रुपमा यस्ता बन्देज फुकुवा होस् भन्ने चाहेका छन् । यी बन्देज फुकुवा हुन पनि अब धेरै समय लाग्ने देखिँदैन । यसैबीच माथि उल्लेखित तीन बाहेक अधिकांश मूलधारका राजनीतिक नेताहरु पनि रिहा गरिएका छन् ।
यसले त्यहाँ राजनीतिक गतिविधि पुनः सुचारु हुने देखिन्छ । जम्मू र कश्मीर अपनी पार्टी नामक राजनीतिक दलको पनि स्थापना भइसकेको छ । भलै पुरानै दलका नेताहरु मिलेर यो पार्टी गठन गरेका हुन्, तर त्यहाँ एकहदसम्मको राजनीतिक सक्रियता शुरु भएको छ । यो पार्टी पिपुल्स डेमोक्र्याटिक पार्टी पीडीपीका पूर्व नेता अल्ताफ बुखारीले शुरु गरेका हुन् । उनी पीडीपीकी नेतृ मेहबुबा मुफ्ती मुख्यमन्त्री रहेका बखत अर्थमन्त्रीको जिम्मेवारीमा थिए ।
उनलाई गत वर्षमात्र पार्टीबाट बर्खास्त गरिएको थियो । पार्टी शुरु गर्ने बेला उनले आफ्नो पार्टीको मुख्य एजेण्ड जम्मू र कश्मीरलाई राज्यको मान्यता दिनु रहेको तथा रोजगारी र शिक्षाको अधिकार प्रत्याभूत गर्नु रहेको जनाएका थिए । उनले त्यसबेला भनेका थिए, ‘अगष्ट ५ का दिन भएको घटनाले नयाँ प्रश्न र वास्तविकता उजागर गरेका छन् । स्वतन्त्र भारतको ७० वर्ष लामो इतिहासमा कुनै राज्यलाई युनियन टेरिटोरिमा घटुवा गरिएको छ । कश्मीरमा जोकोहीसँग पनि कुरा गर्दा उनीहरुमा कश्मीरलाई पुनः राज्यको मान्यता दिनुपर्ने आवाज उठाइरहेका छन् ।’ उनले जम्मू कश्मीरलाई युनियन टेरिटोरीमा घटुवा गर्दा त्यहाँ विकासका गतिविधिहरुमा नराम्ररी असर पारेको समेत बताएका थिए । ‘यसका कारण यहाँ राजनीतिक क्षेत्रमा मात्र नभई नतिजामुखी विकासका गतिविधिमा पनि बाधा उत्पन्न भएको छ ।’ संविधानमा पुनः धारा ३७० को व्यवस्था गर्ने विषमा उनले सर्वोच्च अदालतको निर्णय महत्वपूर्ण रहने उल्लेख गरेका थिए ।
मार्च ८ का दिन नयाँ पार्टी शुरु गर्ने बेला बुखारीले घोषणा पत्रमा ‘जनताको, जनताका लागि र जनताबाट सञ्चालित पार्टी’ हुने उल्लेख गरेका थिए । पार्टीमा कोही पनि सानाठूला नहुने भन्दै शान्ति, स्थायित्व एवं समृद्धि चाहने जोकोहीले पनि पार्टीमा सहभागिता जनाउन सक्ने घोषणापत्रमा उल्लेख छ । उनका अनुसार यो पार्टी अरु भन्दा फरक रहनेछ । कुनै परिवारको दबदबा नरहने बाचा गरिएको उनको पार्टीमा कोही पनि अध्यक्ष दुई पटक भन्दा धेरै पदमा बस्न नमिल्ने पनि व्यवस्था छ । सत्य र वास्तविकतासँग नजिक रही जनतालाई चन्द्रमा र ताराको सपना नदेखाउने घोषणापत्रमा उल्लेख छ ।
पार्टीमा व्यक्तिवाद हावी हुन नदिने बुखारीले बाचा गरेका छन भने नयाँ दिल्लीको केन्द्रिय सरकारसँग व्यवहारिक सम्बन्ध स्थापना गर्ने उनको भनाइ छ । जम्मू कश्मीरलाई दिल्लीले उपेक्षा गर्दै आएको र राज्य र केन्द्रबीच अविश्वासको वातावरण भएपनि अब त्यसो हुन नदिइने बुखारीको भनाइ छ । बुखारीले यसअघि राजनीतिक नेताहरुलाई नियन्त्रणमा राख्ने कार्यको आलोचना गरेका थिए भने उनीहरुको रिहाई गर्नुपर्ने माग पनि राखेका थिए । ‘गतिशील लोकतन्त्रमा राजनीतिक नेताहरुलाई नियन्त्रणमा राखिनुहुन्न र राखिएका नेताहरु रिहा हुनुपर्छ ।’ उनको भनाइ थियो । ‘हामी ७ महिनादेखि नेताहरुको रिहाईको आशामा थियौं, रिहाईपछि उनीहरुले जनताले सामना गरिरहेको चुनौतिका कुरा उठाउलान् भन्ने हाम्रो अपेक्षा थियो । तर, उनीहरुलाई त्यसो गर्न सकेनन् । त्यसैले हामी जनताको आवाज उठाउने वैकल्पिक शक्तिको रुपमा अघि आएका हौं ।’ उनको भनाइ छ ।
बुखारीको पार्टीमा प्रगतिशीलता पनि देखिन्छ । उनको पार्टीले सबै किसिमका भेदभाव, शोषण र पूर्वाग्रह विरुद्ध काम गर्ने समेत बाचा गरेको छ । उनले आफू शक्तिको भोको नभएको भन्दै जनताको पक्षमा काम गर्न आतुर रहेको उल्लेख गरेका छन् । उनले कश्मीरी पण्डितलाई पुनर्वासको पक्षमा समेत कुरा उठाएका छन भने पृथकतावादीहरुलाई त्यस क्षेत्रमा बसोबास गरिरहेका अरु मानिसहरु जस्तै ‘सरोकारवाला’ को व्यवहार गरिने जनाएका छन् । महिला र युवाहरुको सशक्तीकरण क्षेत्रीय रुपमा सन्तुलित आर्थिक वृद्धिलाई पनि ध्यान दिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका दिन आफ्नो पार्टीको शुरु भएदेखि पनि यो पार्टी महिलाको पक्षमा रहेको स्पष्ट हुन्छ ।
पार्टी स्थापना हुनु दुई दिन अघिमात्र जेनेभामा भएको संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ४३ औं सम्मेलनमा कश्मीरी महिला अधिकारकर्मी सइद तहिमाले जम्मी कश्मीरमा पृथकतावाद र आतंकवादको चर्को विरोध जनाएकी थिइन् । पृथकतावाद र आतंकवादकै कारण त्यहाँ महिलाहरुको अधिकार कुण्ठित भएको उनको भनाइ थियो । यही अनुसार अपनी पार्टीले महिलाको क्षेत्रमा काम गरेको खण्डमा त्यस क्षेत्रमा महिला अधिकारका लागि ठूलो सहयोग पुग्नेछ । कश्मीर उपत्यकाका धनाढ्य व्यावसायी समेत रहेका बुखारीको विवादास्पद राजनीतिक छवि छ ।
गत अगष्ट महिनामा नजरबन्दमा नपर्ने सायद उनीमात्र एक्लो नेता थिए । धेरै पटक उनलाई भारतीय अनुसन्धानकर्ताहरुले आतंकवादी गतिविधिमा आर्थिक सहयोग गरेको विषयमा सोधपुछ पनि गरेका थिए । मूलधारका ठूला राजनीतिक नेताहरु सुरक्षाकर्मीको नियन्त्रणमा रहेका बेला विभिन्न नेताहरु जोडिन आएका काणा धेरैले यसलाई अवसरवादीहरुको पार्टी भनी आलोचना समेत गरेका छन् । केहीले भने यो पार्टी स्थापना गर्न सत्तारुढ भारतीय जनता पार्टीको हात रहेको समेत आरोप लगाउने गरेका छन् ।
यसका बावजुद यो पार्टीको स्थापनासँगै ७ महिनादेखि निष्कृय रहेको जम्मू कश्मीरमा राजनीतिक गतिविधि पुनः सामान्य हुने अपेक्षा गरिएको छ । यो पार्टीको प्रगतिशील एवं व्यवहारिकतालाई नकार्न सकिन्न । जम्मू कश्मीरमा लोकतान्त्रिक व्यवस्थाको पुनर्वाहली त्यस क्षेत्रका लागि महत्वपूर्ण छ । अपनी पार्टीले जनमत जित्न सक्ला नसक्ला त्यो भने हेर्न बाँकी छ ।