News अर्थ

७ महिनामा महङ्गी झण्डै ७ प्रतिशतले बढ्यो

७ महिनामा महङ्गी झण्डै ७ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ७ महिनामा मूल्यवृद्धिदर ६ दशलमव ८७ प्रतिशतले बढेको छ । गत बर्षको सोही अवधिको तुलनामा यो २ दशमलव ५२ प्रतिशत विन्दुले बढी हो । 

अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धिदर ४ दशमलव ३५ प्रतिशत थियो । 

यो अवधीमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ९ दशमलव ७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४ दशमलव ६५ प्रतिशत छ । 

राष्ट्र बैंकले आर्थिक बर्ष २०७६/७७ को ७ महिनाको तथ्यांकमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै विशेषगरी तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको औंल्याएको छ । शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको प्रतिवेदनमा उल्लेख छ । 

विप्रेषण आप्रवाह शुन्य दशमलव ५ प्रतिशतले घटेको छ । यो अवधीमा ५ खर्ब १३ अर्ब २१ करोड रकम रेमिटेन्सबाट भित्रिएको छ । 

शोधानान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा छ । आयात ३ दशमलव ६ प्रतिशतले घटेर ८ खर्ब ३ अर्ब ६० करोड कायम भएको छ । वस्तु निर्यात २२ दशमलव ४ प्रतिशतले बढेर ६४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब ६८ करोड बराबर कायम भएको छ । सो सञ्चितीले साढे ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने केन्द्रीय बैंकले जनाएको छ । 

 

 

विशेष