कतार र साउदी अरबपछि अब मलेसियामा पनि रोक

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ ।
मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् ।
मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको बताए । १ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलेको थियो ।
विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ । विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको देखिन्छ । मलेसिया जान मात्र दैनिक ३६५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।
यही तथ्यांकलाई आधार मान्दा आगामी १४ दिनमा लगभग ५ हजार नेपाली मलेसिया जान पाउने छैनन् भने सोही संख्यामा नेपाल फर्कन पाउने छैनन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।
मलेसिया प्रवेश रोक